Top Ad unit 728 × 90

मध्यरातमा एमाओवादीद्वारा संविधानसभामा आक्रमण


एमाओवादीले संविधानसभाको बैठकमा मध्यरातमा आक्रमण गरेका छन् ।

एमाओवादी सभासद्हरुले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङमाथि आक्रमण प्रयास गरे भने एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्यादेवी भण्डारी, एमाले सभासद् ऋषि पोखरेलमाथि आक्रमण गरेको छ । ओलीको छातीमा माइक प्रहार भयो भने विद्या भण्डारीको खुट्टामा चोट लागेको छ ।

संविधानसभा अध्यक्ष नेम्वाङले प्रस्ताव निर्माण समिति गठन गरियोस् भन्ने प्रस्ताव राख्न कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई अनुमति दिएलगत्तै एकजना एमाओवादी सभासद् रोष्ट्रमतर्फ अगाडि बढेका थिए । उनलाई मर्यादापालकले रोकेका थिए ।

लगत्तै एमाओवादीका सभासदहरु आक्रमणमा उत्रिए । एमाओवादी सभासदहरु जनार्दन शर्मा, शिवनारायण मण्डल, अमनलाल मोदीलगायत दर्जनौं सभासद्ले सभामुखको रोष्ट्रममा आक्रमण गर्न जबरजस्ती गर्न थाले ।

सभामुखमाथि आक्रमण गर्न जोरजबरस्ती चल्दा एमाओवादी संसदीय दलका नेता एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले कुनै हस्तक्षेप गरेनन् । बरु बीचमा गएर नारा लगाइरहेका थिए ।

एमाओवादी सभासद्हरु मर्यादापालकमाथि आक्रमण गर्दै अगाडि बढ्न खोज्दा झन्डै ५–७ मिनेट सभाध्यक्ष मौन बसेका थिए । स्थिति झन् भयानक बन्दै गएपछि सभाध्यक्षले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरे ।

बैठक स्थगित भएलगत्तै नाराबाजीमा उत्रिएका एमाओवादी सभासदहरुले आफू बसेको कुर्सी भाँच्न थालेका थिए । उनीहरुले यतिसम्म गरे कि, कुर्सीका माइक भाँच्दै मर्यादा पालकमाथि आक्रमण गर्न थालेपछि स्थिति रक्तपातपूर्ण हुने अवस्थामा पुगेको थियो ।

सत्तारुढसहितका सभासद्हरु बाहिर निस्क थालेपछि एमाओवादी सभासद्हरुले एकपछि अर्को गर्दै कुर्सी भाँच्न, फुटाउन थाले । त्यसपछि एमाओवादी प्रमुख सचेतक गिरिजामणि पोखरेल, शक्ति बस्नेतसहितका नेताहरुले अराजकतापूर्ण तरिकाले कुर्सी फुटाउने सभासद्लाई फकाउँदै बाहिर निकालेका थिए ।

बाहिर निस्कनेक्रममा एमाओवादी र मधेसी दलका सभासद्हरु नाराबाजी गर्दै निस्किए । दाहाल नेतृत्वको विपक्षी मोर्चामा आबद्ध भएका मधेसवादी सभासद्हरु भने व्यक्तिगत आक्रमण र तोडफोडमा संगठितरुपमा देखिएनन् ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र तमलोपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लले आफ्ना सभासदहरुलाई तोडफोडतर्फ अगाडि बढ्न दिएनन् । तर पनि केही सभासद् हुलमा अगाडि गएका थिए ।

आक्रमण र तोडफोड हुनुभन्दा पाँच मिनेट अगाडिमात्रै संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि जवाफ दिँदै एमाओवादी नेता एवं समिति सभापति बाबुराम भट्टराईले ‘केही छिनमै कौरव र पाण्डवको लडाईंको अवस्था हुने’ चेतावनी दिएका थिए ।


भिडियो हेर्न यो लिन्कमा क्लिक गर्नुहोला :-

http://youtu.be/h51F2cL9kVI

संविधान सभा भित्र एमाओवादी बाट गरुएको तोडफोड  
मध्यरातमा एमाओवादीद्वारा संविधानसभामा आक्रमण Reviewed by Sagar on 5:41 PM Rating: 5

No comments:

All Rights Reserved by Nepali Viral © 2014 - 2015
Powered by Themes24x7

Contact Form

Name

Email *

Message *

@2015 nepaliviral.info. Powered by Blogger.